आमाबुबाको माया

आमाबुबाको माया

संयोग कार्की

कक्षा आठ

शहरीया वातावरण, व्यस्त जीवनशैली र तँछाड मँछाडको माहोल थियो । त्यही सहरको एउटा घरमा तीन जनाको परिवार बस्थ्यो । त्यसको पनि आफ्नै कथा थियो । त्यस घरमा बा, आमा र सुयोग नामका एक छोरो बस्थ्यो । सुयोग घरको एक्लो छोरो थियो । उसका आमा र बुबा आआफ्नै काममा व्यस्त रहनुहुन्थ्यो । घर फर्कदा राती अबेर हुन्थ्यो । सुयोग घरमा एक्लै हन्थ्यो । एक्लोपनलाई छल्न वा समय बिताउन ऊ मोबाइल र टेलिभिजनमा अधिकतम् समय बिताउँथ्यो । उसले एकदिन टेलिभिजन हेरिरहँदा सबै परिवार मिलेर गफ गरेको, कुराहरू आदानप्रदान गरेको साथै हासीखुसी बसेको एउटा दृश्य देख्यो । त्यस कार्यक्रम हेरेपछि ऊ सारै खुसी पनि भयो । उसको त्यो खुसी धेरैबेर टिकेन । वास्तविक जीवन र त्यो फिल्मी दृश्यको बिचमा धेरै अन्तर थियो । उसले मनमनै सोच्यो…“परिवार होस् त त्यस्तो पो । आफ्नो त बाबा आमाको अनुहार देख्न पनि मुस्किल छ । सधैँको व्यस्तता, सधैँको चटारो, मलाई समय दिने कसले ? मेरो नजिक बस्ने को ?” 

उसले आमाबुबासँग समय व्यतीत गर्न पाएकै थिएन । विद्यालयबाट आएपछि मन लगाई नलगाई गृहकार्य गर्ने, टोलाउने र फेरि उही मोबाइलमा घोप्टिने नै उसको दैनिकी बन्थ्यो । पढाइमा पनि खासै राम्रो थिएन सुयोग । फुटबलप्रति भने उसको असाध्यै लगाव थियो । खेलसँगै पढाइलाई पनि उत्तिकै ख्याल गर्नुपर्छ भन्नेमा खासै ध्यान दिएन । फुटबलमा भने राम्रो गरिरहेको थियो । त्यसकारण उसका थुप्रै साथीहरू पनि बनेका थिए । परिवारमा एक्लो महसुस गरेको कारण ती साथी नै उसका नजिक भएको उसलाई भान हुन थालेको थियो । उनीहरूसँग मिलेर घुमफिरमा बढी समय त्यतीत गर्न थाल्यो ।

एकदिन घरमा साथीहरू जम्मा भई खेलिरहेको बेलामा उसका बाबा पनि छिटै घर आइपुग्नुभएछ । छोराको त्यस्तो चर्तिकला देखेर बाबाले अलि ठुलो स्वरमा भन्नुभयो, “तेरो केही काम छैन र ? यही हो तेरो पारा ? आफ्नो पढाइ कस्तो भएको छ, थाहा छैन ? पढाइको नतिजा हेर्न लाजमर्दो भैसक्यो । जतिबेला पनि फुटबल भनेको छ, खेलेको छ । अहिलेको समयमा केही गरिखान गाह्रो छ । प्रतिस्पर्धात्मक समय छ । यस्तै चालाले के गरिखाने सोच छ ?” त्यति नै बेला आमा पनि आइपुग्नुभयो । बाबाकै कुरामा सहीथाप्दै भन्नुभयो, “हामीलाई पनि कहाँ सजिलो छ र ? तेरै लागि भनेर न हो दिनरात नभनी पसिना बगाएको तर तँलाई भने केही चिन्ता नै छैन । एउटा भएको सन्तानले पनि हाम्रो दुःख नबुझ्ने भयो ।

एकान्तप्रेमी सुयोग साथीहरू पाएर रमाउन थालेको थियो । त्यस घटनाले उसलाई पुनः दुखी बनाइदियो । उसले सोच्न थाल्यो ..“.उफ् ! म यो घरमा किन जन्मेछु ? न त आमाबुबाको माया नै पाएको छु न त मसँग समय नै बिताउनुहुन्छ, मलाई बुझ्ने नि कोही छैन ।” उसको र बाबाआमाको बिचमा झन् दुरी बढ्न थाल्यो । उसलाई लाग्थ्यो कि साथीहरू नै सबथोक हुन्, उनीहरूले मेरा सबै कुरा बुझिदिन्छन् । घरमा भन्दा साथीसँग बढी समय बिताउन थाल्यो । उसलाई खेलको लागि पैसा चाहिएको थियो । उसले आमाबालाई त केही भन्नै छोडिसकेको थियो र भनेन पनि । यसको लागि उसले साथीहरूलाई आग्रह ग¥यो । पैसा दिन र खाजा खुवाउन सकुन्जेल उसको अघिपछि लाग्ने साथीहरू ऊबाट टाढिन थाले । सम्पत्तिमा सबैको हाइहाइ विपत्तिमा कोही छैन साथीभाइ भन्ने कुरा पनि उसले बल्ल बुझ्यो ।

उता बाबाआमा पनि आफ्नो एक्लो सन्तान, आशाको दीप यसरी आफूबाट टाढिएला भन्ने चिन्तामा थिए । आफूले छोरालाई त्यसरी हप्काउनुको साटो मायाले सम्झाएको भए नि हुने भनेर एकआपसमा कराकानी गर्न थालेका थिए । सुयोग आफ्नो कोठामा एक्लै बसेर रूँदै थियो । उसका आमाबाबालाई पनि सबै कुरा थाहा भइसकेको थियो । छोराको रहर र चाहनाभन्दा ठुलो केही होइन भन्ने सोचेर आमाले आफ्नो आवश्यकताका लागि जम्मा गरेको पैसा र बाबाले आफ्नै बाइक बेचेर उसलाई फुटबल क्लबमा भर्ना गरिदिनुभयो । सुयोग छानाबाट खसेजस्तै भयो । उसलाई लाग्थ्यो, आमाबाबाले माया नै गर्नुहन्न तर वास्तविकता त्यस्तो होइन रहेछ । उसलाई सारा कुरा छर्लङ्ग भयो । आमा र बाबालाई गम्लङ्ग अङ्कमाल गरी ऊ बेसरी रोयो, घुँक्कघुँक्क गरी रोयो । उसले त्यसै दिन बुझ्यो आमाबाबाको माया….।


Facebook-f


Youtube


Instagram

Leave a Reply