Blog
नेपाली विषयको वर्तमान अवस्था
वशिष्ठ माक
कक्षा दश
आफ्नै देशको मातृ भाषामा यहीका विद्यार्थीहरू सबैभन्दा कमजोर, सुन्दा अचम्म लाग्छ सक्छ तर तितो यथार्थ यही हो । पहिलेदेखि कानबाट सुनी आएको र जिब्रोबाट बोलिआएको यो भाषामा अहिलेका विद्यार्थीहरू किन कमजोर छन् त ? यो त हाम्रो मस्तिष्क प्रयोग नगरी मुखबाटै कलल बग्नु पर्ने भाषा हो । नेपाली भाषामा त विद्यार्थीहरूको हात आफैँ चल्नु पर्ने हो । अहिलेको परिस्थिति हेरी हामीले आफ्नै राष्ट्रियतामाथि शङ्का गर्ने समय आएको छ । यस वर्षको कक्षा बाह« कक्षाको परीक्षमा करिब बत्तिस हजार बिद्यार्थीहरू नेपाली विषयमा अनुत्तीर्ण भएका छन् । आफ्नै राष्ट्रिय भाषामा कमजोर भएका हामी अरूको भाषा भने सगौरव बोल्न खोज्छौँ । यो समस्या विद्यालयदेखि होइन, हाम्रो घरदेखि नै सुरु भएको हो । यसका जराहरू भित्रसम्म दसिसकेका छन् । हाम्रो पहिलो शिक्षक हाम्रा आमा बुबाले नै आफ्ना छोराछोरीले अङ्ग्रेजी बोलिदिओस् भन्ने चाहन्छन् । यस्तो परिवेशमा कसरी विद्यार्थीहरुको नेपाली भाषा राम्रो होस् र ? विविधि कारणको खोजीमा हामीले मौलिकतालाई गुमाउन पुगेका छौँ । नेपालीमा राम्रो भएको राम र अंग्रेजीमा राम्रो भएको श्याम बिच कसलाई बढी शिक्षित भन्ला त यो समाजले ? अवश्य पनि श्यामलाई भन्छ किनकि हिजोआज हाम्रो समाजका मानिसहरूमा अङ्ग्रेजी बोल्यो भने त्यो मानिस विद्वान भन्ने भ्रम व्याप्त छ । हाम्रो सोचमै खोट छ तर हामी स्विकार्न तयार छैनौँ । नेपालीलाई तल्लो भाषाको रूपमा लिन थालिएको छ । ढोका पछाडि मानिसहरूले नेपाली नै बोले पनि बाहिर भने नेपाली सकेसम्म कम प्रयोग गर्छन् । यो त हाम्रा भ्रष्ट नेताहरूले देखाउने चाल जस्तै भयो । यदि कोही नेपालीमा राम्रो छ भने उसलाई राम्रो विद्यार्थीको रूपमा लिने गरिँदैन तर त्यही विद्यार्थी अङ्ग्रेजीमा राम्रो भए बखान गरिन्छ । सबैतिरबाट हेला र उपेक्षामा पर्दै गएको नेपाली भाषा मात्र अनिवार्य विषय राखेका कारण पढ्नुपर्ने बाध्यता छ भन्ने सोच सर्वत्र व्याप्त छ ।
यो समस्या कुनै एक जना मानिसले मात्र ल्याएको पनि होइन र समाधान पनि कुनै एकको हातबाट हुने होइन । यसको समानका लागि त हामी सबै लाग्नुपर्छ । विद्यालय तहमा अध्यापन गराउने नेपाली विषय शिक्षक र नीतिनिर्माताले यसमा ध्यान दिनुपर्छ । विद्यार्थीमैत्री वातावरणमा अध्यापन गराउने र नेपाली गीत, संस्कृति, कला र साहित्यप्रति गौरव गर्न अभिप्रेरित गराउने गरिए नेपाली भाषामा विद्यार्थी पक्कै अब्बल हुनेछन् । विद्यालयले पनि नेपाली भाषाप्रतिको उदासिनता हटाई अभिभावकलाई यसको महत्त्व झल्काउनुपर्छ । नेपालभित्र भएका मातृभाषाको संरक्षण गर्दै नेपाली भाषालाई सम्पर्क भाषाको माध्यम बनाई विद्यार्थीमा सिर्जनशील प्रवृत्तिको विकास गर्न सकिए निसन्देह नेपाली भाषा राम्रो हुने छ भन्ने कुरामा दुई मत छैन । जति छिटो हामी नेपाली भाषालाई आफ्नो मातृभाषासरह व्यवहार गर्दैनौँ, भाषा वाङ्मयको श्रीवृद्धिमा ध्यान दिदैनौँ तबसम्म अवस्था यस्तै रहन्छ । अन्त्यमा, वर्तमान अवस्थालाई एउटा नजीरको रूपमा राखी राष्ट्र, राष्ट्रियता र एकताको भावना बढाउँदै नेपालका सबै भाषालाई समान व्यवहार गर्दै सके र सोहीअनुरूप विद्यालयमा पठनपाठन भए नेपाली भाषामा विद्यार्थीको पठनपाठन र उपलब्धिस्तर बढ्ने छ ।