Blog
महेन्द्र विद्या आश्रम भक्तपुर प्रा. लिद्वारा प्रबोधीकरण तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न
MVA
महेन्द्र विद्या आश्रम भक्तपुर प्रा. लिद्वारा प्रबोधीकरण तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिका वडा नं. ३ वाराही पीठमा अवस्थित महेन्द्र विद्या आश्रम भक्तपुर प्रा. लि.द्वारा शिक्षाको राष्ट्रिय पाठ्यक्रम, शिक्षाका राष्ट्रिय उद्देश्य, मूल्याङ्कन प्रणाली तथा तिनको प्राप्तिका लागि विद्यालयले अवलम्बन गरेका नीति तथा शिक्षण सिकाइ सहजीकरण प्रक्रिया सम्बधी एक दिने प्रबोधीकरण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस विद्यालयका संस्थापक एवम् कार्यकारी निर्देशक श्री महेन्द्र प्रसाद मास्केज्यूले एक्काइसौं शताब्दीका लागि आवश्यक दक्ष जनशक्तिको आधारशीला तयार गर्नका निमित्त विद्यालय तहले प्रदान गर्ने शिक्षा संस्कारयुक्त, व्यावहारिक, वातावरण र प्रविधि मैत्री तथा उद्यमशील र सिर्जनशील चरित्र निर्माण गर्ने प्रकृतिको हुनुपर्ने कुरा उल्लेख गर्नुहुँदै शिक्षाले व्यक्तिलाई मूलतः सत्यवादी, कर्मवादी र मानवतावादी बनाउनुपर्ने कुरा बताउनुभयो । यसका साथै उहाँले सबै विद्यालय विद्यार्थीको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक र प्राविधिक पक्षसहित सर्वाङ्गीण विकासमा अगाडि बढ़नुपर्ने र यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवाला सबै पक्षले आआफ्ना भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
भाद्र ९ गते बिहान ७ बजेदेखि बेलुका ५.३० बजेसम्म चलेको कार्यक्रम तीन चरणमा सञ्चालन गरिएको थियो । नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन पक्षसमेतको समुपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री सम्राट मस्केज्यूले विद्यालयको नीतिगत व्यवस्था र कार्यशैली सम्बन्धी उपस्थित सबैलाई जानकार गराउनु भयो भने विद्यालयका प्रधानाध्यापक श्री अनिल श्रेष्ठ, शिक्षक प्रतिनिधि श्री पदमराज सुवेदी र शिक्षिका श्री ज्योति श्रेष्ठ थापाले विद्यालयले कार्यान्वयन गर्दै आएको शिक्षा प्रणालीसँग सम्बन्धित प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममा मिति २०८० साल श्रावण १७ गतेदेखि २४ गतेसम्म सञ्चालित प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल पनि वितरण गरिएको थियो भने प्रत्येक त्रैमासिक परीक्षामा प्रदान गरिने Merit Based Scholarship अन्तर्गत यस परीक्षामा शैक्षिक र व्यावहारिक पक्षमा उत्कृष्ट नतिजा ल्याउन सफल कक्षा एकदेखि दशसम्मका १६ जना विद्यार्थीलाई जम्मा रु. ७६,५०० छात्रवृत्ति सहित प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।