विभूति कार्की
कक्षा आठ
खोलानाला वन कुसुमले देश नेपाल राम्रो
दिव्यात्माको उदय थल हो मातृ भूस्वर्ग हाम्रो ।
चाँदीजस्ता हिमशिखर छन् लोभ लाग्दा सुदृश्य
बग्छन् झर्झर् प्रणय ममता देश नेपाल भव्य ।
मेचीकाली अविरल बगी देश रक्षा गरेका
चारैतर्फी निर पवनले प्राण हाम्रो भरेका ।
सेलो रोदी लय हृदयका देउडा गीत हाम्रा
पञ्चेबाजा सुरसुरति हुन् चेतना कन्दराका ।।
शेर्पा क्षेत्री मगर ठकुरी थारु नेवार राई
लिम्बू कामी गुरुङ सब हौँ एउटै दाजुभाइ ।
गौरा होली छठ इद दशैँ, इन्द्रजात्रा र माघी
रम्छौँ हामी सबजन यहाँ पर्व ल्होसार मानी ।।
मेरा आँखा मन हृदयमा देश नेपाल राख्छु
सारा ऊर्जा रगत पसिना शिल्प जम्मै म पोख्छु ।
यौटा यस्तो अमर रहने कर्म राम्रो म गर्छु
मेरो प्राणै बरु किन नहोस् देशको प्राण भर्छु ।।