मत बदले देश बदलिन्छ

सान्भी घिसिङ

कक्षा दश

मताधिकार प्रत्येक १८ वर्ष माथिका नेपालीको मौलिक अधिकार हो । हरेक लोकतान्त्रिक देशमा आवधिक निर्वाचनले महत्त्व राख्दछ । लोकतन्त्रको सुन्दर पक्ष नै जनताले आफ्नो मतद्वारा आफूले चाहेको योग्य र असल जनप्रतिनिधि छनोट गर्न पाउनु् हो । सिद्धान्ततः लोकतन्त्र आफैँमा एउटा उन्नत शासन प्रणाली भए पनि हाम्रो देशमा गलत परिपाटीले स्थान लिएको छ । यो गलत हामीले गर्दा नै भएको हो । हामी राम्रोलाई होइन्, नराम्रै भए पनि आफ्नोलाई, अझ भनौँ विभिन्न प्रभावमा परेर आफ्नो मत दिन पछि पर्दैनौँ । अनि कागती रोपेर आँपको बोटको कल्पना कसरी गर्न सक्छौ ? त्यैसले अब हामी सबैले बुझनु जरुरी छ । आफ्नो मत सही मान्छेलाई दिनुपर्छ ।

म यो शीर्षकमा कलम चलाउन केवल एउटा लेख लेख्नको लागि मात्र होइन, आउँदै गरेको निर्वाचनमा कमसेकम साम, दम, दण्ड र भेदको दुष्प्रभावमा परी कसैले पनि आफ्नो मतको दुरुपयोग नगरुन् भन्ने हेतुले पनि हो । हाम्रो एक सही मतले सही नेता पाउन सक्छौँ । देश बदल्नलाई मत बदलिनु जरुरी भएको छ । समय आएको छ सही नेतृत्व चुन्नलाई । नेतृत्वमा युवा शक्ति ल्याउनुपर्छ । देश विकासको लागि दक्ष, सक्षम,बौद्विक नेताको आवश्यकता छ । हामी कुनै लोभ लालचमा नफसी सही मान्छेलाई मत दिऔँ । हामीले मत दिन जानेमा परिवर्तन धेरै टाढा छैन । त्यसो गरेनौँ भने हामी गलत नेताको गलत कामको भागीदार हामी नै हुन्छौँ अनि त्यस पछि नेतालाई गाली गरेर बस्नबाहेक केही गर्न सक्दैनौँ । सबै जना सचेत हुनुपर्छ, हाम्रो सही मतले राम्रो नेतृत्वको पाउँदछ । युवा वर्गमा सत्ता जानुपर्छ । हाम्रो आवाजलाई हाम्रो प्रतिनिधिले सम्बोधन गरोस् । हामीले हाम्रो मतको सही अभ्यास ग¥यौँ भने अहिलेको काठमाडौँ र धरानका नगरप्रमुख जस्ता थुप्रै बालेन शाह र हर्क सामपाङ पाउन सक्छौँ । हाम्रो भाग्य र भविष्यसँग जोडिएको निर्वाचनलाई हचुवाको भरमा लिनुहुँदैन । सोच विचार गरेर र उम्मेदारको बारेमा अध्ययन अनुसन्धान गरेर मात्र हामीले आफ्नो मत दिनुपर्छ । आज हामीले दिएको मतले गलत मान्छेको हातमा शासनको बागडोर गयो भने त्यो जस्तो अक्षम्य अपराध केही पनि हुँदैन भन्ने कुरामा हामी सचेत हुन जरुरी छ ।

सङ्क्षेपमा परिर्वतन जरुरी छ, परिर्वतन शासक वर्गमा, परिर्वतन हाम्रो व्यवहारमा र हामीले दिने मतमा । देश विकास गर्नलाई परिर्वतन आवश्यक छ । यदि अझै पनि हामी विगतको बाटोमा हिड्यौँ भने हाम्रो नेताहरुले देशको हालत श्रीलङ्काको जस्तो बनाउन बेर छैन । त्यसैले बेलैमा आफ्नो मत बदलौँ, देशको मुहार बदलौँ । समय आउँदै छ, आगामी पाँच वर्षका लागि कस्तो नेतृत्व चयन गर्ने भन्ने एउटा सुनौलो अवसर आएको छ, यसको सदुपयोग गरौँ ।