Blog
धर्तीलाई चिठी
जेसिका राना मगर
कक्षा नाै
सूर्यविनायक, भक्तपुर
मिति: २०८१/०४/२०
प्रिय धर्ती,
सप्रेम सम्झना र माया ।
म यहाँ कुशलमङ्गल छु । तिम्रो कुशलताको कामना गर्दछु । आज धेरै दिनपछि तिमीलाई पत्र लेख्दै छु । कति कुरा त फोन सम्पर्कमै हुन्थे तथापि एउटा पत्र कोर्न मन लाग्यो तिम्रो नाममा । यो पत्र पश्चात्तापको भावना समेटिको पत्र हो । हुन त मान्छे हुनुको नाताले म क्षमायोग्य पनि छैन तर पनि मन हलुङ्गो बनाउन पत्रको सहारा लिएकी छु ।
हाम्रो सम्बन्धको कुनै व्याख्या र परिभाषा छैन । धर्ती हाम्री माता हुन् । धर्ती अन्नदाता हुन्, प्राणदाता हुन्, मानव अस्तित्वकी जननी हुन् । हर मान्छेको मुखबाट सुनिन्छन् यस्ता अमृत वचन तर व्यवहार हे¥यौँ भने ठिक उल्टो छ । चाहे धर्तीलाई माता भनेर धर्तीमाथि गर्ने अत्याचार होस् वा नारीलाई देवी भनेर उनीहरूमाथि गर्ने दमन होस्, मलाई उस्तै लाग्छ यी दुवैको कथाव्यथा । प्रिय धर्ती, तिमीले हामीलाई हामी बाँच्न, हुर्कन, बढ्न, खुसी हुन र स्वस्थ हुन चाहिने सबथोक दिएकी छौ, अझ भनौँ, तिमीविना कुनै पनि प्राणीको अस्तित्व रहँदैन । यति हुँदाहुँदै पनि तिमीमाथि मानिसले गरेको बेथिति हेर्दा मलाई मानिस भएर किन जन्मेँ हुँला जस्तो लाग्छ । तिमीलाई कुरूप बनाउने मानिसभन्दा त म वृक्ष भएर यस संसारमा आएकी भए तिम्रो आयु र वायु दुवै बढाउन सक्थेँ । अपसोच्, म मान्छे भएर जन्मिएँ । आफ्नै छातीमा खनजोत गर्न दिएर अन्न उब्जाउन दिने तिमी, आफ्ना दूधरूपी जलधाराले हाम्रो प्राण धान्ने तिमी, मेरी धर्ती, मैले तिम्रो स्वच्छता र दीर्घताका लागि केही गर्न नसके पनि सबैलाई चेतना होस् भनेर यो पत्र लेखेकी हुँ ।
तिमीले एक दिन आकाशलाई भनकी थियौ, “आकाश, तिमी भौतिक आयाममा मभन्दा विशाल हौला तर भावनात्मक आयाममा बिल्कुल साना छौ । किन ? थाहा छ ?” कारण सुन, “मसँग जीवन छ । त्यो जीवनमा माया, प्रेम, दया, करुण, सद्भाव, रोदन, आँसु, पीडा सबै छ । यति मात्र होइन, मसँग सपना देख्नेहरू छन् । एकअर्कालाई बुझ्नेहरू छन् । आज सम्झिन्छु, तिमी हामी मान्छेको कुरा गरेर आकाशलाई आफूभन्दा सानो छौ भनेर धाक लगाउँथ्यौ तर तिनै मान्छेले आज तिम्रो अस्तित्वमा खेलवाड गरिरहँदा तिम्रो मन कति दुख्दो हो ? खैर केही छैन, अब तिम्रो रक्षार्थ म आफूलाई सुधार्ने प्रण गर्दछु ।”
प्रिय धर्ती, तिम्रो सुन्दरता अर्थात् हरियालीमा हाम्रो प्राण अडेको छ । अब तिमीलाई उजाड रहन दिने छैन । अब तिम्रो मुटुमा बेवारिसे डोजर चलाउनुहुन्न भन्ने कुरा बोल्ने छु । अब तिम्रो प्राकृतिक क्षमता नै नष्ट हुने गरी रासायनिक मल, विषादीलगायतका तत्त्व प्रयोग गर्न नहुने कुरा तर्र्फ सचतीकरण अभियान थाल्ने छु । आजसम्म जे जति दुःख, अन्याय तिमीले भोगेकी छौ त्यसको त कुनै भरपाई गर्न सकिँदैन तर तिम्रो सुरक्षा गर्न म जरुर होमिने छु । तिमीले हामी मानवलाई के दिएकी छैनौँ ? खाने गास, बस्ने बास, फेर्ने सास, लगाउने कपास जे जति छन्, सबै तिमीबाटै त पाएका छौँ । तिमीबिना हाम्रो अस्तित्व रहँदैन । मैले बुझेकी छु कि धर्ती हाम्रो संस्कृति हो, प्रकृति हो, प्रगति र उन्नति हो । स्वच्छ धर्ती नै सुख, शान्ति र समृद्धि हो । यसर्थ, प्रिय धर्ती, अब तिमी खडेरीको रातमा पिल्सिनुपर्ने छैन । प्रदूषणको चापमा निस्सासिनुपर्ने छैन । विश्व तापमान वृद्धिको तापमा पग्लिनुपर्ने छैन । हरेक मान्छे अब सचेत हुने छौँ । तिम्रो अस्तित्व रक्षामा हामी सबै लाग्ने छौँ ।
लेख्दालेख्दै पत्र लामो भयो । अझैँ केही कुरा लेख्न बाँकी छन् । अबोध बालकले आफ्नी आमाको काखमा शौच गरे जस्तो हामी विवेकशील मानिसले तिम्रै काखमा बसेर त्यही काखमा नानाभाँती दुष्कर्म गरेकोमा क्षमाप्रार्थी छु र अब त्यस्ता कार्य कदापि गर्ने छैन । आजलाई यति मात्र ल ।
तिम्री शुभचिन्तक
जेसिका राना मगर