लैङ्गिक समानता

अन्वेषा कर्माचार्य

कक्षा दश

              ‘लैङ्गिक समानता शीर्षक दुईवटा शब्द ‘लैङ्गिक’ र ‘समातना’ मिलेर बनेको हो । लैङ्गिक शब्दको अर्थ महिला र पुरुष सम्बन्धि हो भने समानता शब्दको अर्थ बराबर हो । यसर्थ लैङगिक समानता भनेको  अवसर, जिम्मेवारी, पहुँच आदिमा महिला र पुरुषको बराबर हक कायम भएको अवस्था हो । महिला र पुरुष दुवैले आफ्नो व्यक्तिगत जीवन स्वतन्त्रतापूर्वक् जिउन पाउने र व्यक्तित्व विकास, पेसा व्यवसाय छनोटमा स्वनिर्णय गर्न पाउनु नै लैङ्गिक समानताको मर्म हो । महिला वा पुरुष भएर जन्मिनु कसैको लागि पनि न वरदान न अभिशाप । यो त सृष्टि रचनाको प्राकृतिक नियम मात्र हो । यसैका आधारमा गरिने विभेद, अन्याय र शोषणका विरुद्धमा आएको समतामूलक अवधारणालाई व्यापक अर्थमा लैङ्गिक समानता मान्न सकिन्छ । 


               नेपालमा लैङ्गिक समानताको अवस्था सन्तोषजनक छैन । नारा तथा  भित्ताका पर्दामा मात्र सीमित नारी अधिकारका खोक्रा बहसहरू अब हटाउनुपर्छ । संविधानका पानामा मात्र होइन, नारीहरुका हरेक पाइलामा समानताका प्रावधानहरू देखिनुपर्छ । जे जति अधिकार प्राप्त भएका छन् तिनको संरक्षण गर्दै नारी र पुरुषको पूर्ण समानता भएको समाज निर्माण गर्नुपर्छ । अब भाषणमा होइन, व्यवहारमा यो देखिनुपर्छ । स्कुल गएकी छोरी साँझ सकुशल घर फर्किन्छे भनेर आमाबुबाले चैनको स्वास फेर्न पाउनुपर्छ । घरदेखि सदनसम्म र विद्यालयदेखि विश्व विद्यालयसम्म महिला पुरुषका समान अनुहार देखिनुपर्छ । 


                विश्व आज एक्काइसौँ शताब्दीमा प्रवेश गरेर विज्ञान र प्रविधिको शिखरमा आरोहण गरिसकेको अवस्थामा पनि महिला र पुरुष बराबर भनेर कलम चलाउनु पर्दा म स्तबध हुन्छु । सभ्यता र राजनीतिका जतिसुकै नवीन आयामको चर्चा भए पनि महिला भएकै कारण छाउगोठमा अकाल मृत्युवरण गर्न विवश अछामकी तुल्छी रावत, बोक्सीको नाममा जिउँदै जलेकी सीता यादव तथा देउकी र दाइजोको कारण  अन्यायको मारमा परेका नारीहरुको पीडाव्यथा सुन्दा नवदुर्गाको उग्र रुप धारण गरेर महिषासुरहरूको वध गर्न मन लाग्छ तर यी नर पिशाचहरूलाई शब्दको वाणले सही मार्गमा हिँडाउने आशासहित कलमको सहारा लिन्छु । सीताले अग्नि परीक्षा दिनु परेझैँ अझैँ कति वर्ष हामीले आफूलाई पवित्र देखाउन आगोमा जल्नुपर्ने ? आफनै आमाको पवित्रतामाथि शङ्का गर्ने कस्तो नालायक छोराहरु हौ ? जुन नारीको साल र नालबाट तिमी जन्मियौ त्यही नारीको अपमान गर्नु कत्तिको जायज हो सम्झेका छौ ?  


               आउनुहोस्, जे जति विकृति र विसङ्गतिहरू छन् यिनको अन्त्य गरी एउटा समतामूलक समाजको निर्माण गरौँ । को नारी को पुरुष ? लैङ्गिक विभेदको अन्त्य गरौँ । अवसर, अधिकार र जिम्मेवारीमा नारीपुरुषको बराबर हक स्थापित गरौँ र नेपाललाई यस्तो देश बनाऔँ जहाँ कहिल्यै पनि अखबारका पृष्ठहरुमा नारीमाथि भएका अत्याचार र अन्यायका समाचारहरुरू हेर्न पाइने छैन  ।