Blog
झ्व भ्वय तथा दशैँ विशेष कार्यक्रम
महेन्द्र विद्या आश्रम
विजया दशमी, तिहार, नेपाल संवत तथा छठको पावन अवसरमा महेन्द्र विद्या आश्रमद्वारा झ्व भ्वय कार्यक्रम सम्पन्न गरियो । कार्यक्रम मिति २०७९साल ०६ महिना १३ गते बुधबारका दिन गरिएको थियो । कक्षा आठका सम्पूर्ण विद्यार्थीको सभागिता रहेको कार्यक्रममा महेन्द्र विद्या आश्रमका कार्यकारी निर्देशक श्री महेन्द्रप्रसाद मास्के, वित्तीय निर्देशक श्री किरण मास्के, प्रमुख प्रशासकीय अधिकृत श्री सम्राट मास्के, प्रधानाध्यापक श्री अनिल श्रेष्ठ तथा सम्पूर्ण शिक्षकको गौरवमय उपस्थिति रहेको थियो । शिक्षक र विद्यार्थीले लगाउनुभएको सांस्कृतिक पोसाकमा नेपालको सांस्कृतिक विविधता र त्यसभित्रको एकत्व एवम् सुन्दरता प्रष्ट झल्किन्थ्यो । झ्व भ्वयमा खाइने विविध परिकार विद्यार्थीबाटै तयार पारिएको थियो भने झ्व भ्वयको परिचयात्मक प्रस्तुति पनि कक्षा आठका विद्यार्थीद्वय हिमांशु श्रेष्ठ र आर्या खर्बुजाद्वारा गरिएको थियो ।
कक्षा आठको स्थानीय पाठ्यक्रम अन्तर्गत ख्वपको पहिचान विषयको उद्देश्य परिपूर्ति गर्न तथा विद्यालयले तय गरेको कला, संस्कार र संस्कृतिः यसको संरक्षण एम्.भि.ए.को दूरदृष्टि नारालाई सार्थक र व्यावहारिक बनाउनु कार्यक्रमको मूल उद्देश्य थियो । किताबका सीमित पृष्ठमा मात्र सिकाइलाई नबाधिकन पाठ्यक्रमले तय गरेका निर्दिष्ट लक्ष्यअनुरूप समाज, प्रकृति, संस्कृति, विज्ञान, प्रविधि एवम् वर्तमान परिवेशमा विद्यार्थीको प्रत्यक्ष सहभागिता गराई सिकाइ कार्य अगाडि बढाउने विद्यालयको नीति र संस्कृति भएकाले उक्त कार्यक्रम गरिएको हो । यसबाट सम्पूर्ण शिक्षक एवम् विद्यार्थीले प्रत्यक्ष रूपमा झ्व भ्वय सम्बन्धी आवश्यक ज्ञान व्यावहारिक तवरले सिक्ने अवसर पाएकोमा विद्यालय गौरवान्वित भएको छ । झ्व भ्वय कार्यमकै दिन विद्यालमा दोस्रो निदानात्मक परीक्षाको परीक्षाफल प्रकाशन तथा वितरण कार्य गरियो भने विजया दशमीको अवसरमा एकापसमा शुभकामना आदानप्रदान कार्य पनि सम्पन्न गरियो । सम्बन्धित शिक्षकबाट विद्यार्थीलाई टीका र जमरा लगाएर आशीर्वाद एवम् सुगन र दक्षिणा दिने कार्य गरियो भने विद्यालयका कार्यकारी निर्देशक श्री महेन्द्रप्रसाद मास्केज्यूबाट सम्पूर्ण शिक्षक कर्मचारीलाई टीका र जमरा लगाएर आशीर्वाद एवम् सुगन र दक्षिणा दिने कार्य सम्पन्न गरियो । विद्यालय नेपाल र नेपालीलाई चिनाउने हाम्रा कला, धर्म, संस्कृति एवम् चाडपर्वको संरक्षण र संवद्र्धनमा सदैव दरोखरो रूपमा अगाडि बढ्ने र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न अझ सशक्त भएर प्रस्तुत हुने प्रतिज्ञासहित कार्यक्रम सम्पन्न गरियो ।