Blog
निरोगी काया खुसी मन: स्वस्थ समाज निर्माण MVAको अभियान

MVA
‘निरोगी काया खुसी मन: स्वस्थ समाज निर्माण एम्.भि.ए.को अभियान’ भन्ने मूल नाराका साथ मिति २०८१ साल फाल्गुन महिनाको १७ गते शनिबारका दिन महेन्द्र विद्या आश्रम भक्तपुर प्रा. लि.ले बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । समाज डेन्टल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरको प्राविधिक सहयोगमा भक्तपुर नगरपालिका वडा नं. ३ स्थित नासमनामा सञ्चालन गरिएको उक्त कार्यक्रमको समुद्घाटन भनपा वडा नं. ३ का वडाध्यक्ष श्री राजकृष्ण गोराज्यूले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले महेन्द्र विद्या आश्रम भक्तपुर प्रा. लि.ले हरेक वर्ष आयोजना गर्ने शिःशुल्क स्वास्थ्य शिविर, रक्तदान लगायतका जनचेतनामूलक कार्यक्रम प्रशंसनीय र अनुकरणीय रहेको बताउनुभयो । यसका साथै उहाँले महेन्द्र विद्या आश्रम भक्तपुर प्रा. लि. आफ्नो तहबाट सामाजिक उत्तरदायित्व बहन गर्न उद्यत रहेको र आगामी दिनमा पनि यस्ता प्रकृतिका कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरमा करिब ५०० जनाले आफ्नो स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उक्त शिविरमा समाज डेन्टलका दन्तरोग विशेषज्ञ डा. कृष्णमिलन पाण्डे, डा. सुजन तण्डुकार, डा. मनिसा पाण्डे र डा. विजया पाण्डेले दन्तरोग परीक्षणअन्तर्गत दाँतको एक्स—रे, दाँत भर्ने, सफा गर्ने, निकाल्ने तथा दन्त रोग सम्बन्धी परामर्श दिने कार्य गर्नुभएको थियो । यसैगरी भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरका चिकित्सक टोलीबाट रक्तचाप, मधुमेह, बोन मिनिरल डेन्सिटी परीक्षणका गरिनुका साथै हाडजोर्नी विशेषज्ञ डा. सरोजकुमार सुवाल र जेनेरल फिजिसियन डा. अब्दुल्लाह मदानीले स्वास्थ्य सम्बन्धी परामर्श दिने कार्य गर्नुभएको थियो । शिविरमा आवश्यकता अनुसारका औषधिजन्य सामग्री तथा टुथपेस्ट र ब्रस पनि निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्नुहुँदै विद्यालयका कार्यकारी निर्देशक श्री महेन्द्र प्रसाद मास्केज्यूले विद्यालय सदैव गुणस्तरीय जीवन निर्माणका लागि सक्दो प्रयास गरिरहेको तथा समाज र समुदायप्रति उत्तरदायी रहेकै कारण स्वास्थ्य शिविर सञ्चालन गरिएको कुरा बताउनुभयो । साथै उहाँले शिविरमा सहभागी हुनुभई स्वास्थ्य परीक्षण गराउनुहुने सम्पूर्ण महानुभावका निमित्त दाँत सम्बन्धी थप उपचार गर्नुपरे समाज डेन्टल तथा रक्तचाप, मधुमेह, मुटुरोग, बोन मिनिरल डेन्सिटी तथा अन्य स्वास्थ्य सम्बन्धी जाँचबुझ गर्नुपरेमा भक्तपुर हार्ट एण्ड डायवेटिकको कुनै पनि शाखामा २०—२५ प्रतिशतसम्मको छुट सुविधा प्राप्त हुने कुरा पनि बताउनुभयो ।











