Blog
बाल दिवस कार्यक्रम
पल्पसा श्रेष्ठ
कक्षा ९
२०७९ साल भाद्र २९ गते, महेन्द्र विद्या आश्रमद्वारा राष्ट्रिय बाल दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरियो । थापा पार्टी प्यालेस भक्तपुर, सूर्यविनायकमा सम्पन्न उक्त कार्यक्रममा कक्षा एकदेखि दशसम्म अध्ययनरत चारवटै सदनका विद्यार्थीले उत्साहजनक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार र जवाफदेही सरकार’को मूल नारालाई विद्यालयले अवलम्बन गरी कार्यक्रम आयोजना गरेको थियो । श्रृष्टिका कोपिलाहरू हुन बालबालिका, अनि यी कोपिलाहरूलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानव पुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ । तसर्थ, बालबालिकाहरूलाई ज्ञान, सीप, धारणाको सकारात्मक र आशावादी विचारहरूको विचारोपण गर्न जरुरी छ र सोहीअनुरूप उनीहरूको शिक्षादीक्षा हुनुपर्छ भन्ने सुस्पष्ट दृष्टिकोण विद्यालयले राखेको छ । कार्यक्रममा विद्यालयको हरेक तहबाट बाह« बाह« जना गरी तीन तहबाट छत्तिस जना विद्यार्थीहरूले भाग लिएका थिए । प्रिप्याटरी तहबाट सुरु भएको प्रतिभा प्रस्तुति कार्यक्रम यु.ई.एल्. तहमा आएर अन्त्य भएको थियो । प्रिप्याटरी तहबाट पहिला अङ्कुरम् सदनले आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो । अङ्कुरम् सदनबाट आफ्नो प्रस्तुति लिएर अयुना न्हिसितु, ग्रीष्मा जाशी, जेत्सुन लामाले क्रमशः फुलबुट्टे सारी, सिरैमा सिर्बन्दी र माइती घर शीर्षकको गीतमा आकर्षक नृत्य प्रस्तुत गरे । त्यसपछि दक्ष सदनबाट दर्शित श्रेष्ठले मादल बजाउनुभयो, सजन खत्रीले रेशम फिरिरी गीत गाउनुभयो भने पृन्सा राजचलले लिका वयमा उत्कृष्ट नाच प्रस्तुत गर्नुभयो । अगाडि बढ्ने क्रममा कोबिदा सदनबाट दर्शन किसुला र कृति दुगुजु दुबैले नाच पुतली र सिरैमा सिर्बन्दी गीतमा नाच प्रस्तुत गरेपछि स्वोप्निल शाक्य भाइले बीलीभर नामक अङ्ग्रेजी गीत गाउनुभयो । । प्रिप्याटरी तहको अन्त्यमा शम सदनबाट इवान हाकुदुवाल्, स्वोस्तिका राय र सनिफा बुद्धाचार्यले तीन फरक गीत जून त लाग्यो, सिरैमा सिर्बन्दी र फूलको बाटोमा आफ्नो नृत्य प्रस्तुत गर्नुभयो । यसैगरी एलिमेन्ट्री तह र अपर एलिमेन्ट्र तहबाट पनि चारवटै सदनले आफ्ना प्रस्तुति पस्किनुभएको थियो ।
कार्यक्रमको मध्यान्हमा खाजा खाने समय मिलाइएको थियो भने विद्यालयमा सञ्चालित विभिन्न कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक श्री महेन्द्रप्रसाद मास्के, संस्थापक वित्तिय निर्देशक श्री किरण मास्के, प्रमुख प्रशासकीय अधिकृत श्री सम्राट मास्के, प्रधानाध्यापक श्री अनिल श्रेष्ठ लगायत शिक्षकहरूको सहभागिता रहेको थियो । बालबालिकाको सर्वाङ्गीण विकास र बालमैत्री वातावरण निर्माणमा यस्ता कार्यक्रमले कोसे ढुङ्गाको काम गर्ने विश्वास विद्यालयले लिएको छ । बालबालिकाको उचित वृद्धि विकास र सिकाइ कार्यका लागि विद्यालय अहोरात्र लागिरहने प्रतिबद्धतासहित कार्यक्र समापन गरिएको थियो ।