Blog
महेन्द्र विद्या आश्रम भक्तपुर प्रा.लि.को
४० औँ वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न
महेन्द्र विद्या आश्रम भक्तपुर प्रा.लि.
महेन्द्र विद्या आश्रम भक्तपुर प्रा. लि.ले ४० औँ वार्षिकोत्सव तथा मणिभ जयन्ती विविध कार्यक्रमका साथ सुसम्पन्न गरेको छ । विद्यालयका संस्थापक एवम् कार्यकारी निर्देशक श्री महेन्द्र प्रसाद मास्केज्यूको अध्यक्षता तथा भक्तपुर नगरपालिकाका नगर प्रमुख श्री सुनिल प्रजापितज्यूको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम सूर्यविनायकमा अवस्थित थापा पार्टी प्यालेसमा सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शिक्षा विकासमा महेन्द्र विद्या आश्रमको पनि महत्त्वपूर्ण योगदान रहँदै आएको कुरा बताउनुभयो । युवा विद्यार्थीहरू विदेशिने क्रम बढ्दै जानु देशको लागि चिन्ताको विषय भएको बताउँदै प्रमुख प्रजापतिले महेन्द्र विद्या आश्रमले विद्यार्थीमा आफ्नो कला, संस्कृति, रीतिरिवाज, राष्ट्रियता जस्ता पक्षको विकासमा गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा भनपा वडा नं. ३ कार्यबाहक वडाध्यक्ष कृष्णगोपाल चौगुठी, वडा सदस्य सुनिता अवाल, वाराही पीठविकास समितिका अध्यक्ष अनन्त प्रसाद धौबडेल लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीको गौरवमय उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रमलाई विद्यालयका संस्थापक एवम् कार्यकारी निर्देशक महेन्द्रप्रसाद मास्केज्यूले पनि सम्बोधन गर्नुभएको थियो । उहाँले महेन्द्र विद्या आश्रम आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र यसका लागि विद्यार्थीमा मानवतावादी, सत्यवादी, कर्मवादी, सिर्जनशील, अध्ययनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री चरित्रको विकास गराउन लागिपरेको कुरा बताउनुभयो । साथै उहाँले विद्यालयलाई ४० औँ वसन्तमा पदार्पण गराउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएपश्चात् प्रमुख अतिथि प्रजापतिले विद्यार्थीका रचना समेटेर प्रकाशित गरिएको सिर्जना र अनुभूति नामक कथा संग्रहको विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा १५९ जना विद्यार्थी र १६ जना शिक्षक कर्मचारीलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु २,६१,५०० (अक्षरेपि दुई लाख एकसट्ठी हजार पाँच सय रुपँैया) पुरस्कारस्वरूप वितरण गरिएको कार्यक्रममा कक्षा नर्सरीदेखि दशसम्मका विद्यार्थी भाइबहिनीले नेपाली कला, संस्कृति र रीतिरिवाज झल्किने साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । साथै नेपाली र सामाजिक क्लबका विद्यार्थीले देशभक्तिपूर्ण नाटक र विज्ञान समूहका विद्यार्थीले पर्यावरणीय सन्तुलनसँग सम्बन्धित मेलोड्रामा प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका शिक्षकद्वारा आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमको समापन गरिएको थियो ।