MVA द्वारा The Exhiblitz तथा रक्तदान कार्यक्रम भव्यताका साथ सुसम्पन्न

MVA

भक्तपुर नगरपालिका वडा नं. ३ वाराहीस्थानमा अवस्थित महेन्द्र विद्या आश्रम भक्तपुर प्रा.लि.द्वारा बृहत् शैक्षिक प्रदर्शनी तथा रक्तदान कार्यक्रम सुसम्पन्न गरिएको छ । विद्यालयको ३९औँ स्थापना दिवसको सुखद् अवसरमा आयोजित कार्यक्रमको समुद्घाटन विद्यालयका संस्थापक एवम् कार्यकारी निर्देशक श्री महेन्द्र प्रसाद मास्के तथा वित्तीय निर्देशक श्री किरण मास्केद्वारा संयुक्त रूपमा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यालयका कार्यकारी निर्देशक श्री महेन्द्र प्रसाद मास्केज्यूले शैक्षिक प्रदशर्नी कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने मात्र नभई तिनै सामग्रीहरूको प्रयोगले सिकाइलाई दिगो बनाउन टेवा पु¥याउने, सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सेतुको काम गर्ने तथा विद्यार्थीमा गणित, विज्ञान, प्रविधि, संस्कृति तथा भाषा साहित्यको अध्ययन अन्वेषण गर्ने बानीको विकास गर्न सकिने कुरा व्यक्त गर्नुभयो । साथै वर्षभरि सिकेका र जानेका विषयवस्तु विद्यार्थी आफैँले बनाउन सकुन र पढेका विषय हेरेरै सिकुन् भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुहुँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई झन व्यापक र व्यवस्थित बनाइँदै लगिने कुरा बताउनुभयो । झट्ट हेर्दा कुनै विवाह मण्डपझैँ देखिने विद्यालय परिसर दुलही समान शृङ्गारिएको थियो भने त्यसको अवलोकन गरिरहँदा कुनै मेला महोत्सवमा गएको जस्तो अनुभूति हुन्थ्यो । नेवारी बाजागाजाले कार्यक्रममा रौनकता छाएको थियो । पाँचओटा कक्षाकोठा र करिब ८० ओटा स्टलमा विद्यार्थीहरूले गणित, विज्ञान, कम्प्युटर विज्ञान, सामाजिक अध्ययन, भाषा साहित्य, संस्कृति, प्रविधि तथा चित्रकला लगायतका सामग्रीहरू प्रदर्शनमा राखेका थिए । विद्यार्थीले बनाएका सामग्री अवलोकन गर्न अभिभावक र शिक्षकको घुइचो देखिन्थ्यो । अभिभावकहरू आफ्ना छोराछोरीले बनाएका विभिन्न विषयका शैक्षिक सामाग्री हेरेर दङग देखिन्थे । प्रदर्शनीमा कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीद्वारा स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइएका विभिन्न सामग्रीहरू प्रदर्शन गरिएका थिए । आधुनिक प्रविधिबाट निर्मित यान्त्रिक उपकरणदेखि परम्परागत औजार तथा सरसामग्री दृश्यावलोकन पश्चात् सम्पूर्ण आगन्तुक सन्तुष्ट देखिन्थे भने विद्यार्थीहरू आफूले सिर्जना गरेका प्रोजेक्टहरूको बारे अवलोकन गर्न आएका अभिभावकहरुलाई सभ्य र शिष्ट भाषाशैलीमा व्याख्या गरिरहेका थिए । प्रदशर्नी कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नेवारी परिकार समेत बनाएका थिए ।

विद्यालयद्वारा ३९औँ स्थापना दिवसको अवसरमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रेडक्रस जिल्ला शाखा भक्तपुरको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरियो । ६० जना महानुभावले रक्तदान गर्नुभएको कार्यक्रममा विद्यालका तर्फबाट उहाँहरूको महान् तथा पुण्य कर्मलाई सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।