शैक्षिक सत्र २०८२ सम्बन्धी प्रबोधीकरण कार्यक्रम सम्पन्न

MVA

मिति २०८२ साल वैशाख महिनाको २० र २७ गतेका दिन महेन्द्र विद्या आश्रम भक्तपुर प्रा. लि.ले शिक्षाको राष्ट्रिय पाठ्यक्रम, शिक्षाका राष्ट्रिय उद्देश्य, शैक्षिक तथा मानव विकासका सिद्धान्त, नवीनतम् शिक्षण विधि, विद्यालयको शैक्षिक दूरदृष्टि, शैक्षिक रणनीति, विद्यालयका तहगत उद्देश्य तथा शैक्षिक सत्र २०८२ का समग्र कार्यक्रमका बारेमा सम्पूर्ण अभिभावकलाई जानकारी गराउने हेतुले प्रबोधीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका संस्थापक एवम् कार्यकारी निर्देशक श्री महेन्द्र प्रसाद मास्केज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा तहगत कोर्डिनेटरहरूले आआफ्नो प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यालयका कार्यकारी निर्देशक श्री महेन्द्र प्रसाद मास्केज्यूले विद्यालय वर्तमान युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गर्नका निमित्त लागिपरेको कुरा बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको प्रत्याभूति र सुनिश्चिताका लागि अभिभावकको संलग्नता पनि अत्यावश्यक भएकाले विद्यालयले प्रबोधीकरण कार्यक्रमको आयोजना गरेको कुरा पनि बताउनुभयो । यसका साथै उहाँले विद्यार्थीमा नैतिक व्यवहार निर्माण गर्दै आत्मनिर्भर, स्वावलम्बी, सिजर्नशील, तार्किक, स्वअध्ययनशील तथा समालोचनात्मक सिप विकास गर्न विद्यालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कुरा पनि अवगत गराउनुभयो ।

 

कार्यक्रममा आफ्नो प्रस्तुति राख्नुहुँदै विद्यालयका प्रधानाध्यापक श्री अनिल श्रेष्ठज्यूले शिक्षाको अर्थ र ध्येय, नेपालको शिक्षा नीति, शिक्षाको राष्ट्रिय पाठ्यक्रम, शैक्षिक तथा मानव विकासका सिद्धान्त तथा विश्वव्यापी अभ्यास, हाम्रो विद्यालयको शैक्षिक दूरदृष्टि तथा रणनीतिका बारेमा स्पष्ट पानुभयो । उहाँले शिक्षा व्यक्तिको रूपान्तरण प्रक्रियासँग सम्बन्धित भएकाले विद्यार्थीको भाषा प्रयोग, लवाइखवाइ, काम गर्ने तरिका, सोच्ने शैली, समस्या समाधान सिप, निर्णयकला जस्ता पक्षमा रूपान्तरण भयो वा भएन भन्नेतर्फ शिक्षक, अभिभावक र विद्यार्थी संवेदनशील हुनुपर्ने कुरामा जोड दिनुहँदै विद्यार्थीमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन हुने वातारण निर्माणमा लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । यसैगरी तहगत कोअर्डिनेटज्यूहरूले क्रमशः प्रि—तह, प्रिपेटरी तह, एलिमेन्ट्री तह र अपर एलिमेन्ट्री तहका तहगत उद्देश्य, शैक्षिक सत्र २०८२ का शैक्षिक कार्यक्रम, तिनको कार्यान्वयन चरण जस्तै कक्षा सञ्चालन ढाँचा तथा अभिभावकबाट आवश्यक साथ र सहयोगका बारेमा चर्चा गर्नुभयो । साथै उहाँहरूले विद्यालयले विद्यार्थीमा व्यैयक्तिक, अन्तरव्यैयक्तिक, सञ्चार, पठन, लेखन, प्रस्तुतीकरण जस्ता सिप विकासका लागि प्रयोगात्मक सिकाइ क्रियाकलाप सञ्चालन गर्दै आएको र सिकाइलाई कक्षाकोठामा मात्र सीमित नराखी समाज र प्रकृतिसँग जोड्ने तथा स्वअध्ययन र अनुसन्धान सिप विकास गर्ने प्रयोजनले आउट अफ द बक्स सेसन, परियोजना कार्य, क्षेत्र भ्रमण, पुस्तक समीक्षा, मोडेल डिजाइनिङ, जङ्क आर्ट जस्ता कार्यक्रम सञ्चालन गरिरहेको कुरा पनि बताउनुभयो । झण्डै ३ घण्टा अवधिको कार्यक्रममा अभिभावकज्यूले पनि आआफ्ना विचार राख्नुभएको थियो । अभिभावका जिज्ञासा सम्बोधनका क्रममा विद्यालयलका कार्यकारी निर्देशकज्यूले विद्यालय अभिभावकका सल्लाह, सुझाव र प्रतिक्रियालाई आत्मसात गर्दै अगि बढिरहेको कुरा बताउनुहँदै कार्यक्रम सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावप्रति कृतज्ञता ज्ञापनका साथ कार्यक्रम समापन गर्नुभएको थियो ।