Blog
विद्यार्थीको नेतृत्व सीप विकासमा एम्.भि.ए.को भूमिका
आफ्सा श्रेष्ठ
कक्षा दश
१. विषय प्रवेश :
हेनरी मिन्टज्बर्ग भन्छन्, “नेतृत्व पढेको भरमा सिकिने विषय होइन । यो पौडी खेले झै गर्दै सिकिने कुरा हो ।”
नेतृत्व भनेको समूह वा संगठनलाई मार्गनिर्देश गर्ने, चलायमान बनाउने र प्रेरित गर्ने विशेष खुबी हो । नेतृत्वको मुख्य उद्देश्य भनेको साझा लक्ष्यहरू हासिल गर्न संगठनका सदस्यहरूलाई प्रेरित गरी समन्वय गर्नु र उहाँहरूको क्षमता विकास गर्नु हो । मानिस सामाजिक प्राणी भएकाले उसको जीवनयापन सामाजिक रूपमै हुन्छ । यस दृष्टिकोणबाट हेर्दा विद्यालय पनि एउटा समाज हो जहाँ भिन्न भिन्न समुदायका बालबालिका अध्ययन गर्न आउने गर्दछन् । विविधतायुक्त समाजमा सद्भावपूणर् तरिकाले व्यवहार गर्नका निमित्त नभई नहुने गुण भनेको भाषिक सक्षमता र अभिव्यक्ति सीप हो । विद्यार्थीमा यस सीपको विकासका लागि हरेक विद्यालयले नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरी नेतृत्व विकास संस्थाको रूपमा भूमिका खेल्न अत्यावश्यक छ । यस लेखमा म अध्ययनरत विद्यालय श्री महेन्द्र विद्या आश्रमले विद्यार्थीमा नेतृत्व सिप विकास सम्बन्धी के कस्ता कार्यक्रम गरिरहेको छ भन्ने विषयलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
२. पेटबोली :
मेरो विद्यालय महेन्द्र विद्या आश्रम भक्तपुर प्राइभेट लिमिटेड विद्यार्थीमा नेतृत्व सीप विकास गर्न अहम् भूमिका खेलिरहेको छ । हाम्रो विद्यालयले नीतिगत रूपमै विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरूको आयोजना गरी विद्यार्थीहरुलाई नेतृत्वको अवसर प्रदान गरिरहेको छ । विद्यालयले नेतृत्व सिप विकासका लागि चारओटा सदनका सदन प्रतिनिधि, सदन उपप्रतिनिधि, प्रत्येक कक्षामा कक्षा प्रतिनिधि तथा विद्यार्थी परिषद् गठन गर्ने नीतिगत कार्यक्रम कार्यान्वयन गरिरहेको छ । अन्तर सदनात्मक रूपमा विद्यालयले वक्तृत्व, वादविवाद, नाटक, कविता वाचन, भित्ते पत्रिका लेखन, प्रतिभा प्रदर्शन, सरसफाइ, हाजिरीजवाफ, गणित वलम्पिया जस्ता थुप्रै प्रतियोगिता सञ्चालन गरिरहेको छ । यसका साथै शैक्षिक र शारीरिक क्लब गठन गरी प्रत्येक मंगलबार र शुक्रबारका दिन व्यक्तित्व विकाससँग सम्बन्धित नृत्य, संगीत, गायन, चित्रकला, उद्घोषण जस्ता कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । यस्ता कार्यक्रमबाट हामी विद्यार्थीको प्रतिभा प्रस्फुटन मात्र होइन, हाम्रो कला र गला निखार्न पनि उत्तिकै सहयोग पुगिरहेको छ ।
विद्यार्थीलाई पढाएर होइन, विभिन्न कार्यक्रममा आबद्ध गराई विद्यार्थी स्वयम्लाई गर्न लगाउने वातावरण विद्यालयले निर्माण गरेको छ । सर्वप्रथम त विद्यार्थीलाई बोल्ने, आफ्ना कुरा राख्ने र एकापसमा संवाद गर्न लगाउने कार्य गराइन्छ । यसबाट सबै विद्यार्थीमा आफ्ना कुरा खुलेर राख्न सक्ने सिप विकास भएको छ । जे कुरा बोल्नु छ, भन्नु छ वा लेख्नु छ निर्भीक भएर अभिव्यक्त गर्ने वातावरण विद्यालयले निर्माण गरेको छ । पाठ्यक्रमले तोकेका पाठ्यवस्तु हुन् वा सहक्रियाकलाप, सबैको पठनपाठन र सञ्चालनमा विद्यार्थीलाई प्रमुख भूमिका दिइन्छ । विद्यार्थी बोल्ने र शिक्षक सुन्ने, विद्यार्थी गर्ने र शिक्षक हेर्ने, विद्यार्थी सहपाठीलाई सिकाउने र शिक्षकले सुपरीवेक्षण गर्ने जस्ता क्रियाकलाप विद्यालयले गरिरहेको छ । उत्तर लेखनदेखि पाठको व्याख्या, विवेचना र समीक्षा जस्ता कार्य पनि विद्यार्थीलाई नै गर्न लगाइन्छ । यसरी विद्यालयले आफ्ना हरेक गतिविधिमा विद्यार्थीको नेतृत्व क्षमता अभिवृद्धि हुने कार्यक्रमलाई प्राथमिकता दिइरहेको छ । बिहानी सभामा स्वदेशगान गायन, सामूहिक नृत्य जस्ता कार्यक्रममा पनि सबै विद्यार्थीलाई सहभागी गराइन्छ ।
३. उपसंहार :
सारमा भन्नुपर्दा विद्यार्थीको नेतृत्व सीप विकासमा एम्.भि.ए.को भूमिका महत्त्वपूणर् रहेको छ । बालबालिकाको प्रत्यक्ष संलग्नताबाट मात्र उहाँहरूको वास्तविक सिकाइ हुन्छ भन्ने कुरा विद्यालय आफ्ना कार्यक्रममा लागु गरेको छ । विद्यालयले विद्यार्थीका लागि हरेक प्रकारका डबली प्रदान गरिरहेको छ । विद्यालयको नीति तथा कार्यक्रमकै उपज मैले विद्यार्थी परिषद्को नेतृत्वकर्ताका रूपमा काम गर्ने सोभाग्य पाएकी छु । यस्ता कार्यक्रम सञ्चालन गरी विद्यार्थीमा व्यक्तित्व र नेतृत्व जस्ता गुणको विकास गर्ने एम्.भि.ए. प्रति सदा कृतज्ञ रहने छु ।