म अनि म

एन्जिलिना दुवाल

कक्षा ९

हरेक मानिस ठूलो अवसर प्राप्त गरेर जौवक प्राणीको रूपमा यो संसारमा जन्मिन्छ । जन्मेपछि उसको एउटा नाम राखिन्छ, थर हुन्छ, घर हुन्छ । वंशको आधारमा उसले एउटा पहिचान पाउँछ । ऊ हुर्किँदै जान्छ र समाजसँग घुलमिल हुँदै जान्छ । ऊ आफ्नो जीवन अनुभव, सामाजिक अनुभवका साथै पढाइ लेखाइबाट परिपक्वता प्राप्त गर्न थाल्छ । ऊ परिपक्व भएपछि आफुलाई चिन्न खोज्छ र आफूले आफुलाई प्रश्न गर्छ, म को हुँ ? म किन जन्मेँ हुँला ? मेरो जीवनको अर्थ के हो ? यो संसार के हो ? यी प्रश्नले ऊ आफुलाई हेर्ने गर्छ । मभित्रको म को हो भनेर चिन्ने र आफ्नो पहिचान बनाउने प्रयत्न गर्छ ।
मान्छे मान्छेभन्दा ठुलो र सानो कदापि हुन सक्दैन । मान्छे मान्छे हुनुको स्वभावमा बाच्नु नै सबैभन्दा महान् कुरा हुन्छ । जीवनयात्राको तेहौँ वर्षमा म आफूलाई बुझ्न खोज्दै छु, चिन्न खोज्दै छु । मेरो नाम एन्जिलिना दुवाल, हो । मैले वंशको आधारमा नाम, थर र जातिको पहिचान पाइसकेकी छु । तर मभित्रको ‘म’ को हो ? भनेर बुझ्दै छु । म जीवन बुझ्ने प्रयासमा छु । नाक, कान, जिब्रो, आँखा, मुख, निधार, दाँत, फोक्सो, कलेजो, मुटु आदिको समष्टि म आँखिर को हुँ ? म कस्तो हुनुपर्छ ? म आफैँ आफूलाई खोज्दै छु । म मभित्रको मलाई खोज्छु तर कतै पाउँदिनँ । म अल्मलिन्छु, रुमलिन्छु । मैले जताततै खोजे पनि अहँ मैले भेटाइनँ । कहिले भेटाउँछु होला मैले मलाई ? हेर्न मिल्ने भए आफ्नै नजरले आफैँलाई हेर्थेँ र पढ्ने मिल्ने आफैँले आफैँलाई पढ्थेँ अनि गर्थेँ गुरुबाले कक्षामा गराउनुभएको सप्रसङ्ग व्याख्या जस्तै वर्णन, अफसोच मैले सकेकी छैनँ ।
म मेरा आमाबुबाका लागि अर्कै, समाजका लागि अर्कै र साथी भाइका लागि अर्कै छु । म मान्छे एउटै भए तापनि म आमाबुबाका लागि सन्तानको रूपमा, गुरुका लागि विद्यार्थीको रूपमा, समाजका लागि जिम्मेवार सदस्यको रूपमा र साथीभाइका लागि मित्रको रूपमा आफ्नो भूमिका निर्वाह गर्छु । अब प्रश्न उठ्छ कि म को हुँ ? उत्तर सिधा छ, म सन्तान हुँ, म विद्यार्थी हुँ, म मित्र हुँ । तर यत्तिमा मेरो चित्त बुझ्दैन वास्तवमा मैले आफ्नो पहिचान बनाउन बाँकी नै रहेछ । म आज आएर बुझ्दै छु । वास्तविक जीवन बुभन त बाँकी रहेछ । जन्मनु अवसर र अवसर यदि भाग्य हो भने भाग्यले कोरेको यो जीवन कर्मले सजाउन त बाँकी नै छ । जीवन सङ्घर्ष हो । म आफ्नो जीवन र भविष्यत सुन्दर बनाउन किन सङ्घर्ष नगरूँ ? सायद मभित्रको म पहिचान गर्न र चिन्नलाई मैले धेरै सङ्घर्ष गर्नुपर्छ र हिँड्नुपर्छ एउटा लक्ष्यमा, नदी जस्तै बग्नुपर्छ आफ्नो समुद्र भेट्न ।
हरेक मानिसको केही न केही उद्देश्य हुनुपर्छ । मेरा पनि केही उद्देश्यहरू छन् । मसँग पनि केही बन्ने सपना छ । सायद ममा भएका सपनाले नै मभित्रको मको पहिचान गराउने छ । मभित्र मको पहिचान सायद मेरो वर्तमानको कर्म र भविष्यको प्राप्ति निर्धारण हुन्छ । मैले आफ्नो लक्ष्य प्राप्त गर्न र पहिचान बनाउन धेरै अघि बढ्नु छ, असंख्य उत्तारचढावहरू पार गर्नु छ । मलाई आफ्नो भविष्यत् बनाउनु छ । हिजोसम्म बालक भएर कुनै चिन्ताबिना माटोमा खेल्ने म आज युवावयमा हिँड्दै छु तर म त्यस समय जस्तो चिन्ता मुक्त छैन, म सङघर्षका चापले थिचिएकी छु, म परिश्रमको रापले पिल्सिएकी छु । म हुँ चाहिँ को ? अँह मलाई थाहा भएन । मलाई आफन्तले होच्याएको सुन्दा आफूलाई प्रश्न गर्छु ? परिवारले ममाथि प्रश्न गर्दा म को हुँ भनेर अल्मिलिन्छु ।
समयको चक्र गतिशील छ । मको खोजिमा म आज शुन्य भएकी छु तर मैले मभित्रको मलाई भेटाएकी छु । मैले बुझेकी छु कि हरेक मानिस जन्मिँदै म भएर जन्मिन्छ तर मभित्रको मलाई आकार दिन उसले विशेष कर्म गर्नुपर्छ । मेरा कामले, व्यवहारले, सिर्जनाले, सामाजिक सम्बन्धले र मेरा व्यैयक्तिक खुबीले रहेछ मभित्रको मलाई चिनाउने । परिस्थिति जस्तोसुकै होस्, म सामना गर्दै अगि बढ्ने छु मेरो अलग्गै पहिचान बनाउन तर त्यो पहिचान बनाउँदै गर्दा म मान्छे हुनुको स्वभावमा अडिग रहने छु ।