Blog
भ्रष्टाचारः सामाजिक कलङ्क

विभूति कार्की
कक्षा दश
कात्रोमा घुस माग्दछन् यदि भने बाँकी कहाँ के रह्यो ?
भ्रष्टाचार बढ्यो यहाँ दिनदिनै चुर्लम्म देशै डुब्यो ।
भ्रष्टाचार कलङ्क हो मुलुकको हो रोग समृद्धिको
तोडौँ जाल कुकर्म दुष्टजनको रक्षा गरौँ देशको ।
आफ्नै दाजु र भाइ इष्ट नभनौँ नाता नहेरी कन
लाऊँ जेल र नेलका हतकडी यी भ्रष्टचारीकन ।
भ्रष्टाचारसँगै बढ्यो कहर यो अन्यायको शासन
आमा बेच्न समेत दुर्जनहरू छन् तम्तयारै किन ?
भ्रष्टाचार विरुद्धको समरमा आऊ युवा हो सब
जिल्ला गाउँ र केन्द्रबाट यिनको नामेट गर्दै अब ।
भ्रष्टाचार हटे विकास पथमा यो देश लम्किन्छ है
बालौँ दीपक चेतना हृदयमा यो देश चम्किन्छ है
भ्रष्टाचार हटाउने सफरको पैलो म यात्री बनूँ
सारा भ्रष्ट विनाश ध्वंश गरने सच्चा सुपुत्री बनूँ
सत्यानाश म पार्छु भ्रष्टजनको आँधी डढेलो बनी
भ्रष्टाचार बगाइदिन्छु अब लौ बाढी सुनामी बनी ।