Blog
यात्रा संस्मरण
साजिया खत्री
कक्षा १०
जीवन यात्रा हो, हामी यात्री हौँ अनि समय हाम्रो निर्देशक, कतै सुनेकी थिएँ पाँच कक्षमा पढ्दै गर्दा । कक्षा पाँच पढ्दा यस्ता कुरा कहाँ बुझ्थेँ र ? सिकाइका उपल्ला सिँढी चढ्दै कक्षा दशसम्म पुगेपछि थाहा हुँदै छ, वास्तवमा जीवन एक यात्रा रहेछ । यही यात्रा हो जसले नयाँ नयाँ ठाउँ र अनुभवसँग जोड्छ अनि कति ठाउँबाट छुटाउँछ पनि । जे होस् त्यो दिन हाम्रो शैक्षिक भ्रमणको रमाइलो दिन थियो । जगाती,बनेपा र पनौतिका बाटो र गल्ली हुँदै एम. भि.ए को गाडी खोपासीको विद्युत घरसम्म पुग्यो । यात्रा त्यति लामो त होइन तर मनको अनुभूति र चाहना यस्तो थियो कि यही यात्रालाई चीर कालसम्म सम्झनायोग्य बनाऊँ । एक मनमा त मलाई एक रत्ति पनि रमाइलो होला जस्तो लागेको थिएन तर अलि अलि गर्दै बाटोहरू कट्दै र गीत गाउँदै गएपछि मभित्र उत्साहको नव प्राण थपिदिए जस्तो महसुस भयो । थाहा भएकै कुरा हो कि लकडाउनमा नमज्जाले गुम्सिएका,आत्तिएका र निराश भएका म जस्ता कयौँ बाल हृदयमा आजभोलि खुसी र आशाका आभा पलाउँदै छन् । मेरा नयनले आज पनि नयाँ दृश्यको माग गर्छन्, मेरा पाइलाहरू नव ठाउँ रोज्छन् अनि मेरा चाहनाहरू नयाँ अनुभूतिको रहर गर्छन् । यो यात्रा रमाइलो होस् कि खल्लो होस्, म खुलेर घुम्छु र नयाँ कुरा सिक्छु भनेर मैले अघिल्लो रात नै ठानिसकेकी थिएँ । दृश्यलेभन्दा दृष्टिले फरक पार्छ भनेझैँ विद्यालय जीवनको एउटा अविस्मरणीय दिन बनेर रिहरहने छ त्यो दिन ।
आज त झन साथीहरू पनि थिए । विद्यालयबाट दुईटा गाडी गुडे । खै किन र कसरी हो एउटा गाडीको नाम केटाहरूको गाडी र अर्को केटीहरुको गाडी भनेर बोलाउन थालियो । न त गाडी बाहिर केटा वा केटी भनेर टाँसिएको थियो न त कसैले हामीलाई त्यस्तो भन्न लगाएको नै थियो । तर यस बेला किन हो मलाई र मेरा साथीहरुलाई अर्को गाडीभन्दा अगाडि पुग्ने रहर थियो । पेट्रोलपम्पबाट केटाहरूको गाडी अघी जादा हत्तेरी ! जस्तो भयो तर पछि गीत गाउँदा गाउँदै अघिपछि केहीको मतलब नै भएन । गीत पनि यति गाइयो कि घाटी सुकेर छ कि छैन जस्तो भयो एकछिन । त्यहाँ पुगेर जिनाको हात समाउदै म हिडेँ,एता हेरेँ,उता हेरेँ,त्यो खुल्ला आकाशमा आफुलाई नै पाएँ, हावाको स्पर्शले मेरो शरीरमा घर बसायो र म मनमनै रमाएँ । त्यो हावा जहाँ कुनै जात, धर्म, क्षेत्र, लिङ्ग, आदिको गन्घ थिएन । मात्र थियो हिमाली शितलतामा मिसिएको नेपाली सुगन्ध । मलाई रम्न मन पनि थियो । कसैले केही भन्ला कि भनेर आज भने मनमा आज डर थिएन । आफैँमा र यो प्रकृतिमा रमाएर म पोखिन चाहेँ छताछुल्ल अनुभूतिको पोखरीमा । स्वतन्त्र हुनलाई एक्लै हुनुपर्दैन,आफू हुनुपर्छ । अनि खुसी हुनलाई आफ्ना कुरा सबैलाई बुझाउनुपर्छ भन्ने छैन, आफुले बुझे पुग्छ । मलाई म भएजस्तो महसुस भयो । त्यहाँ पानी बगेको हेर्दा आफ्नो अतितका काला दिन पनि बगेझै लाग्यो । तर त्यो पानीले भुइँमा लेउको दाग पनि बसाउँदो रहेछ । अतीत हाम्रो मूल हो भने वर्तमान त्यसको अविरल धार हो अनि ऊ पुग्ने गन्तव्य भविष्य हो । यो सोचाइ मनमा कसरी आयो, एकछिन त यसले रोमाञ्चित बनायो । सत्य यही हो कि जीवन त्रिकालमा चल्दो रहेछ, भूत, वर्तमान र भविष्यत् ।
मैले मेरो साथीलाई फूल दिएँ । उहाँले त्यसको तारिफ गर्नुभयो । काँडासँग सङ्घर्ष गरेर फूलेको त्यो फ्रूल अनि आफ्ना कमजोरी जित्न सङ्घर्ष गरिरहेकी ममा धेरै समानता थिए । हामी सबैले यो उपहार स्वरूप पाएको जीवन, फुलाउनु छ नेपाली माटोमा, देशको समुन्नत भविष्य बनेर । मनमा यस्ता कुरा खेल्दाखेल्दै हामी रेशम खेतीतिर गयौँ । चक्चक नगरी बस्न नसक्ने मेरा साथिहरू सुरु भए र मैले पनि सुरमा ताल मिलाइदिएँ । रेशम किरा हेर्दा पनि रमाइलो भयो । म रेशम किराको बोरेमा बोल्नुहुने गुरुको नाम बिर्सन्न किनकि मेरो मामाको नाम पनि निराजन नै हो । सबैजना एकै कोठामै जम्मा भै बस्दा खुसी लाग्यो । किम्बु खेती हेर्दा फोटो खिचियो र आफ्नो त मुख बिगारेको फोटो पो आएछ । तर त्यति नराम्रो पनि थिएन किनभने मलाई अरू हुन मन थिएन । खाजा खाने बेलामा मासु खान्न आज एकादशी भनेर अन्डा खान थाल्दा साथीहरूले जिस्काएको र आफू निस्तब्ध भएको क्षण कहिल्यै बिर्सिने छैन । केही समयपछि हामी विद्यालय फर्कियौँ । विद्यालयबाट घरको बाटो हुँदै खोपासी, फेरि त्यही बाटो घर फर्किनु थियो । जे भयो, जस्तो भयो, त्यो दिन राम्रो बित्यो र मनमा नयाँ आशा जन्मियो । मलाई आउँदा दिनमा पनि यतिकै खुसी रहन मन छ । विद्यालयले जुन उद्देश्यका लागि हामीलाई भ्रमण लगेको थियो, हामीले त्यो उद्देश्य पूरा गरेका थियौँ । सँगसँगै जीवनका अक्षय खजानारूपी अनुभव र सम्झना पनि सँगालेका थियौँ । यो सुनौलो अवसरका लागि विद्यालयप्रति सदा कृतज्ञ रहने छु ।