Blog
नेपालका लोकबाजा
![Rij Amatya Rij Amatya](https://www.mva.edu.np/wp-content/uploads/elementor/thumbs/99297817_106469244415114_6276141538191867904_o-e1663647156351-pv0vz8ew6nqm25qvgju0mkdijkl80c369rs2vp8jw0.jpg)
रीज अमात्य
कक्षा नौँ
नेपाल धार्मिक, सांस्कृति र भौगोलिक दृष्टिकोणले अत्यन्त समृद्ध मुलुक हो । यहाँ विविध जातजाति र तिनका धर्म, परम्परा, रीतिरिवाज, चालचलन तथा लोक संस्कृतिको रसस्वादन गर्न पाइन्छ । यिनै लोक संस्कृति र नेपाली जनजीवनका अमूल्य अङ्गको रूपमा रहेका नेपालका लोकबाजा हाम्रा अमूल्य निधि र पहिचान हुन् । ‘लोक’ शब्दको अर्थ संसारको कुनै कुनामा बसेका मानिसको समूह वा एउटा परम्परामा बाधिएका मानिसको समूह भन्ने हुन्छ भने ‘बाजा’ शब्दको अर्थ फुकेर, ठोकेर, रेटेर, थिचेर आदि ढङ्गले विभिन्न ताल निकालेर बजाइने वस्तु वा वाद्य भन्ने हुन्छ । अतः ‘लोकबाजा’ भन्नाले नेपालका विभिन्न भूभागमा बसोबास गर्ने र एउटा परम्परामा एकताबद्ध हरेक जातिमा प्रचलित वाद्यवादनका साधन भनेर बुझ्न सकिन्छ ।
लोक जनजीवनका तितामिठा अनुभूतिलाई जब मानिसले गीतको रूपमा गुन्गुनाउन थाल्छ र त्यसमा लोकबाजाको धुन मिसाउँछ त्यसले सबै दुःख पीडा र रोदन बिर्साएर जीवनमा आशा, खुसी र उमङ्गको बहार ल्याउँछ । त्यसैले त लोकबाजाबाट निस्किने सुमधुर धुनलाई हाम्रै हृदयको झङ्कार मानिन्छ । चाहे काष्ठपण्डपमा बजेको धिमे होस् वा रोदीघरमा धन्केको मादल अनि विवाह मण्डपमा बजेका पञ्चेबाजा हुन् यी सबैले हाम्रै संवेदना बोलिरहेका हुन्छन् । कोकिल कण्ठ सुन्न हामीले वसन्त नै कुरिरहनु पर्दैन, यिनै लोकबाजाले बाह«ै महिना त्यसको झझल्को दिइरहन्छन् । पूर्वदेखि पश्चिमसम्मका दमाहा, नरसिङ्गा, खैँजडी, मादल, डम्फू, सारङ्गी, टुङ्ना आदि हाम्रा लोकबाजा मात्र होइनन्, यी त मुटुका धड्कन हुन जसबाट जीवषेणा जागृत हुन्छ ।
नेपाल त्यस्तो देश हो जहाँ अहिलेसम्म १५६ प्रकारका लोकबाजाहरू पत्ता लगाइएको छ । यी बाजाहरू नेपालको लोकबाजा सङ्ग्रहालयमा राखिएका छन् । अझै यस्ता कति बाजाहरू हुन सक्छन् तिनको खोज अनुसन्धान गरी संरक्षण गर्ने दायित्व हामी सबैको हो । तसर्थ आआफ्नो ठाउँबाट हामी सबै जना यसको संरक्षणमा जुट्नुपर्छ । यिनै लोकबाजा, लोक संस्कृति र लोक गीतहरू नै हाम्रा मौलिक गानाबजाना हुन् । विदेशी गीत सङ्गीतको अन्धभक्त भएर आफ्ना लोक गीत सङ्गीतको अपहेलना कदापि गर्नुहन्न । लोकबाजा भनेको हाम्रो हृदयको बोली हो, राष्ट्रको परिचय र अस्तित्व हो । यी बाजाहरूमा हामी आफनो पन र मन दुवै भेटाउँछौँ । गाइने दाइले सारङ्गी रेट्दा, धने काकाले बासुरी बजाउँदा, दमाई दाइले नरसिङ्गा फुक्दा र शेर्पा दाइले डम्फू बजाउँदा निस्किने धुनले कस्को मन नछोला र ?अतः यी लोकबाजाको महत्त्व समयमै बुझौँ, बुझाऔँ र यिनको संरक्षणमा एक भएर जुटौँ ।