Blog
‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ र ‘मेरो चोक’ कविताको समीक्षा
कृषा यान्द्यो
कक्षा दश
१. कवि परिचय
नोपली साहित्यका सुप्रसिद्ध कवि भूपि शेरचनको जन्म विक्रम सम्वत् १९९२ पुस १२ गते मुस्ताङ जिल्लाको टुकुचे भन्ने गाउँमा भएको हो । पिता सुब्बा हितमान शेरचन र माता पदमकुमारी शेरचनका कान्छा छोरा भूपि शेरचनको खास नाम भूपेन्द्रमान शेरचन हो । उहाँका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘परिवर्तन’, ‘नयाँ झ्याउरे’ जस्ता कविता सङ्ग्रह प्रकाशित छन् । प्रस्तुत ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ र ‘मेरो चोक’ कविता उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रहमा सङ्ग्रहित छन् ।
२. कविताको भाषाशैलीः
‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ र ‘मेरो चोक’ कवितामा नेपाली भाषाको प्रयोग भएको छ । केही शब्द अत्यन्तै सरल, सहज र सुबोध्य छन् भने केही शब्द दुर्बोध्य पनि छन् । कविले बङ्ग्याएर विषयवस्तु प्रस्तुत गरेका छन् । सजिला शब्दले पनि गहिरो अर्थ दिएका छन् । हरेक हरफमा हृदय छुने भाव छ । समग्रमा यी कविताको भाषाशैली बोधगम्य नै छ भन्न सकिन्छ ।
३. कविताको विषयवस्तु
‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ र ‘मेरो चोक’ कवितामा कविले नेपाली समाजमा रहेका विसङ्गतीहरू प्रस्तुत गर्न खोजेका छन् । विभिन्न हिंसा, हत्या व्यभिचार, कमिकमजोरीहरू प्रस्तुत गर्दै भोक र रोग जस्ता समस्यालाई कविताको विषयवस्तु बनाइएको छ ।
४. कविताको भावः
‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ र ‘मेरो चोक’ कवितामा कविले नेपाली समाजको सजीव चित्र प्रस्तुत गरेका छन् । गरिबी र मौनताले भरिएको चोकमा एक दुई दिन बास बस्दा कविलाई नेपालको इतिहास नै गलत लाग्छ किनभने उनले सुनेका थिए कि वीर पुर्खाले देशका लागि बलिदान दिएका कुरा तर जब उनले नेपालको दयनीय स्थिति देखे उनलाई नेपालको इतिहास नै गलत पो हो कि भन्ने कुरा व्यक्त गरे । उनले नारी माथि भइरहेको अन्याय र अत्याचारका बारेमा सुन्छन् तब उनलाई स्त्री शक्तिको महिमा गाउने नेपालको इतिहास नै गलत लाग्छ । वर्तमान नेपाल हेर्दा उनलाई बुद्ध, अरनिको, अमरसिंहको नाम सुन्दा पनि नेपालको नाम उच्च भएको थियो होला भन्ने लाग्दैन । त्यसैले नेपालको इतिहास नै गलत लाग्छ ।
‘मेरो चोक’ शीर्षकको कवितामा एउटा साँधुरो गल्लीमा रहेको चोकको बारेमा वर्णन गरिएको छ । यसको आशय दुई विशाल देशको बिचमा रहेको साँधुरो ठाउँमा अवस्थित नेपालको वर्णन हो । मानिसले बनाएका देवता र देवताले बनाएका मानिस नै यहाँ दुःखी छन्द भन्ने कुरा प्रष्ट्याइएको छ । यहाँ सब थोक छ मात्र मानिसलाई शान्ति छैन । त्यसकारण यहाँ धनीदेखि गरिब सबैको आआफ्नो मर्म छ भन्न खोजिएको छ ।
५. उपसंहार
कविताको मूल सार भनेको नेपाल प्राकृतिक, सांस्कृतिक धनी देश हो । तर यी प्राकृतिक स्रोतहरूको उपयोग गर्न नसकेकाले नै होला हजारौं मानिस भोकमा . डुबेका छन् । जडीबुटीको उपयोग नगरेर नै होला लाखौँ मानिस रोगी छन् । नेपाल–को यस्तो नाजुक स्थिति देखेर कुन चाहिँ नेपालीको मन दुख्दैन र ? मलाई पनि आफ्नो देशको यस्तो हालत देखेर निकै दुःख लाग्यो । अब नेपाललाई विकसित र समुन्नत। शान्त, सुन्दर र सौम्य बनाउने कार्यमा हामी सबै नेपाली एकजुट हुनुपर्छ भन्ने भाव ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ र ‘मेरो चोक’ कविताले दिएका छन् ।