छाउपडी कुप्रथाले मनमा उब्जेका अनुभूति

जेम्स धुख्वा

कक्षा दश

नेपाली समाजमा अझैँ पनि थुप्रै सामाजिक कुरीति विद्यमान छन् । मानव सभ्यता मानवीय विकासको चरम चुलीमा आरोहण गरिरहँदा हामी मान्छे मान्छे बिच रहेका यस्ता विषमताले यथार्थको धरातल नाङ्गो देखाइरहेको प्रतीत हुन्छ । सामाजिक अध्ययन पढ्दा सुदूरपश्चिमका केही जिल्लामा रहेको छाउपडी कुप्रथाको बारेमा थाहा पाएँ । हुन त बेलाबखत अखबार छापिने र सञ्चार माध्यममा सुनिने समाचारमा पनि यो विषय सुनिएकै थियो । तथापि जब छाउपडी कुप्रथाको बोरेमा पाठ्यपुस्तकमै पढेँ, त्यसपछि मन एकतमासको भयो । मनमा असङ्ख्य कुरा खेल्न थाले र अन्ततः केही लेख्ने निधोमा पुगेँ । यो लेख छाउपडी कुप्रथाको सिकार हुन बाध्य दिदीबहिनीका चरणमा समर्पित गर्दै आगामी दिनमा यो कुप्रथा एका देशको कथा हुने छ भन्ने हेतुले लेख्दै छु ।

छाउपडी प्रथा ती कुरीतिहरूमध्ये एक हो, जसमा महिनाबारी हुँदा महिलाहरूलाई घरदेखि टाढाको एउटा गोठमा राख्ने गरिन्छ । नेपालका विकट स्थानहरूमा यो कडाइका साथ अभ्यास गरिन्छ । अझै पनि जब परिवारका महिला सदस्यहरू रजस्वलाबाट गुज्रन्छन्, उनीहरूलाई भान्छामा प्रवेश गर्न समेत निषेध गरिएको छ । मानिसहरू सोच्छन् कि महिनावारीको समयमा महिलाहरू अशुद्ध हुन्छन् र दैनिक गतिविधिहरू गर्न सक्दैनन् । यो प्रथालाई पछ्याउनु पर्ने बाध्यताका कारण धेरै दिनसम्म विद्यालय छोड्नुपर्ने बालिकाहरूलाई यसले कति असर पारेको होला ? यसैको कारण अकालमा ज्यान गुमाउनेको परिवारमा कस्तो भयो होला ? कसैले त सोच्नुपर्ने हो । यो वास्तवमै अस्वीकार्य र अविश्वसनीय छ कि जुन समयमा महिलाहरूलाई सबैभन्दा बढी उपचार, पोषण र सुरक्षाको आवश्यकता पर्दछ, तिनीहरूलाई यसको सट्टा फोहोर गोठमा राखिन्छ ।

रजस्वला प्रकृतिको नियम हो । प्रकृतिको यो नियम मानव सृष्टिसँग जोडिएको विषय हो । मानिससँग चेतना छ, विवेक छ, उसलाई थाहा छ कि रजस्वला के हो अनि के होइन भनेर, र पनि किन यस्तो अन्धविश्वास व्याप्त छ ? मेरो कलिलो मस्तिष्कमा यो प्रश्नले खुट्टा घुमाइरहेको छ । पढ्न बस्छु, खान बस्छु, खेल्न थाल्छु, जे गरुँ मात्र त्यही प्रश्न आउँछ, आँखिर किन एक महिलामाथि यस्ता विभेद ? अनुत्तरित हुन्छु । मलाई लाज लाग्छ कि म त्यो समाजको छोरा मान्छे हुँ जो आफ्नै आमालाई महिनावारी भएको बेला घरदेखि टाढा राख्छ अनि छुँदैन । छ्या ! मलाई अफसोच लाग्छ कि म कसरी यस्तो हुन सकेँ । खै हामीभित्रको मानवता, के मानवता दानवतामा परिणत भैसक्यो र ? अनि मनमा एउटा यस्तो सङ्कल्प लिन्छु कि अब यसरी हुँदैन बरु जल्न परे म जल्छु तर यी विकृतिलाई राख बनाएरै छोड्छु र नेपाली समाजका अन्धतामा प्रकाश छरेरै छोड्छु । घडी हेरेँ , रातको एघार बजिसकेछ । सुत्ने जाँगर गरेँ र पनि निद्राको साथ पाइला जस्तो भएन ।

रात सुत्ने समय हो । सपना देखिने समय हो । आजको रात एउटा सार्थक सपना देख्ने अठोट गरेँ । त्यो सपनामा नेपाली समाजभित्र रहेका कुरीतिको अन्त्य गरी समुन्न्त समाज निर्माणको लागि आफूले सकेको योगदान दिने कुरा राखेँ । यसरी छाउपडी कुप्रथाले मेरो मनमा जन्माएका अनेकौँ तरङ्को निष्कर्षस्वरूप मभित्र परिवर्तनशील चेतना जागृत भयो । एक मनले त भोलि नै जाऊँ सुदूरका ती गाउँ बस्तीमा जहाँ छाउपडीको सन्त्रास छ, भन्ने सोच्यो । एक मनले फेरि कक्षा दशको विद्यार्थी भएकाले अध्ययनमा ध्यान दिनुपर्छ भन्ने सोच्यो । जे होस् म आवाज र सचेतना फैलाइरहनेछु, सञ्चारका उपकरणमार्फत । अन्तिममा आफैँलाई धन्यवाद दिन मन लाग्यो कि आज मेरो मनमा यति सुन्दर विचारको बीजारोपण भयो । रात निकै छिप्पिसकेको थियो । एउटा सुन्दर बिहानीको कल्पना गर्दै म सुतेँ र निद्राको चरम आनन्दमा केही घन्टा हराएँ ।